पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरेको छ ।
पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।
वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का रहेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् ।
वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । रोजिना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ जिल्लाकी हुन् ।
उदियमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । केसी र भण्डारी बागलुङका हुन् भने श्रेष्ठ कास्कीका हुन् ।
वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । किशोर स्याङजाका हुन् भने निरज र सुरज कास्कीका हुन् ।
अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुनेछ ।