दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगर गौरवको आयोजनाको रुपमा रहेको दुलेगौंडा–लामागाउँ सडकको स्तरोन्नतिका लागि सार्वजनिक सुनुवाई गरेको छ । सडक स्तरोन्नतिका लागि वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकन प्रतिवेदन तायारी गर्नुपर्ने हुदाँ सार्वजनिक सुनुवाई गरिएको प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपानेले बताए ।
शुक्रबार नगरपालिकाले वडा नम्बर ९ को वडा कार्यालयमा उक्त सार्वजनिक सुनुवाई गरेको हो । सार्वजनिक सुनुवाईमा नगरको वडा नम्बर ४, ८, ९ र १२ का स्थानीयहरुले नगर गौरवको आयोजनालाई स्वागत गरेका छन् । साथै आफ्नो क्षेत्रको विकासका लागि आएको योजनामा आफुहरुको विरोध नरहेको उनिहरुको तर्क थियो ।
पहिलो चरणमा अबको २ बर्ष भित्र दुलेगौंडको विपि चोकदेखि ८ किलोमिटर सम्मको सडक अर्थात लिलाचोक सम्मको कालोपत्रे गर्नुपर्ने छ । जुन सडक विपिचोक , हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालबेसी, मालेबगर हुदै लिलाचोक सम्म पु¥याईने छ । सडकको चौडाई १० मिटरको हुने छ । जहाँ ५.५ मिटर कालोपत्रे, कालोपत्रेको दुबै छेउमा १/१ मिटरको नाला र नाला छेउमा १/१ मिटरको खालि ठाउँ निर्माण गर्नुपर्ने छ । यस आयोजनाको अनुमानित लागत ५८ करोड ३० लाख रुपौंया रहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर उपप्रमुख खुमबहादुर विक राजुले सडक निर्माण पछि लामागाँउ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने साथै कृषि उपज वजार सम्म ल्याउने सहत वातावरण तयार गर्ने बताए ।