काठमाण्डौ – प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ । समानुपातिकमा थ्रेस होल्ड कटाएका ७ वटा दलले राष्ट्रिय मान्यता पाएका छन् ।
निर्वाचन आयोगको समानुपातिक तर्फको अन्तिम मत परिणामअनुसार कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउने एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत गरी ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८ सय २ मत आवश्यक पर्ने आयोगले जनाएको छ ।
समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ १० सिट जितेपनि थ्रेसहोल्ड कटाउन भने सकेन । राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई १८ हजार ४ सय ११ मत अपुग भएको छ । थ्रेसहोल्ड नकटाउने अरु ४० वटा दलले प्राप्त गरेको समानुपातिकतर्फको मत पनि खेर गएको छ ।