बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा हिजो बेलुका तीन वर्षीय बालकलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । घाइते हुनेमा स्थानीय सुवास परियारका छोरा सुलभ परियार रहेका छन् ।
बेलुका झन्डै ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेका सुलभलाई चितुवाले तानेर लगेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
‘चितुवाले बालकलाई लैजान थालेपछि बालककी आमा पनि चितुवाको पछिपछि लागेकी थिईन् । करिब ५० मिटर टाढा पुगेर चितुवाबाट छोरालाई खोसेर ल्याउन सफल भईन्’ स्थानीय वासु पन्थले जानकारी दिए ।
घाइते बालकको बन्दीपुर गाउँपालिका–४ डुम्रेमा रहेको मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।
बालकको घाँटी तथा शरीरका अन्य भागमा चोट लागेको छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय बालक सुप्रिम बगालेको चितुवाको आक्रमणमा परि ज्यान गएको थियो ।-उज्यालो