दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-३ मा रहेको बन्केवा यूनाईटेड युथ क्लबले आयाेजना गरेकाे चाैंथाे साविक वडा तथा गाउँ स्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि भिमाद नगरपालिका-२ हैदगाले हात पारेकाे छ ।
शुक्रबार भएकाे फाईनल खेलमा भिमाद हैदगाले शुक्लागण्डकी नगरपालिका-१२ लाई ३-१ सेटकाे अन्तरले जित हासिल गरेको छ । प्रथम भएसंगै हैदकाले नगद ४५ हजार साथमा कप,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यसै गरि प्रतियोगिताकाे उपविजेता शुक्लागण्डकी-१२ ले नगद २५ हजार, तृतीय स्थान हासिल गरेकाे स्याङ्जा विरूवाले नगद १५ हजार साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी, महिलातर्फ टि.जी ग्रुप पाेखरा प्रथम, लाेकदिटार महिला भलिबल टिम द्वितीय र जरेबर महिला भलिबल टिम तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रममा: नगद १५ हजार, ८ हजार, ४ हजार साथमा कप, मेडल र प्रमाण पत्र हात पारेका छन् ।
प्रतियोगितामा हैदगाका ईश्वर सुनार बेष्ट प्लेयर, सुसान थापा बेष्ट डिफेन्डर, शिव थापा बेष्ट सर्वर घाेषित भए भने शुक्लागण्डकी-१२ बाट विश्वास ठकुरी राईजिङ्ग प्लेयर, सुवास गुरूङ बेष्ट स्पाईकरफ र अशोक ठकुरी बेष्ट लिफ्टर घाेषित भए । यसै गरि महिला भलिबल तर्फ जरेबर महिला भलिबल टिमकी रिचा थापा बेष्ट लिफ्टर र लाेकदिटार महिला भलिबल टिमकी निर्मा सारू मगर बेष्ट स्पाईकर घाेषित भईन ।
हरेक नयाँ बर्षकाे अवसरमा बन्केवा युवा क्लबले प्रतियोगिता आयाेजना गदै आएको क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले बताए । उनका अनुसार पुरूष तर्फ २६ समुह र महिला तर्फ ६ समूह सहभागी थिए ।