दुलेगौंडा । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको भुलभुले बाराही मन्दिरको प्रचारप्रसार नहुदाँ ओझेलमा परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ भुलभुलेमा रहेको मन्दिरमा एक शताब्दी अघिदेखी पुजा गरिदै आए पनि मन्दिरको संरक्षण र प्रवद्र्धनमा कसैको पनि ध्यान नपुग्दा ओझेलमा परेको हो । शुक्ला शुक्ला न्यूजका समाचार प्रमुख हरि खरेलले मन्दिरको बिषयमा स्थानीय एव्म समाजसेवी लालप्रसाद गर्ताैलासंग गरिएको संवादीत अंश तल प्रस्तुत गरिएको छ ।
भुलभुले बाराही मन्दिरको नाम कसरी रहन पुग्यो ?
मन्दिर छेउमा रहेको मुलबाट पानी निरन्तर एकैनासले निस्कन्थ्यो । तर, जब लहरी छुट्थ्यो, त्यसबेला चाँही भूलभूल………..गर्दै निकन्थ्यो । त्यसो हुदाँ मन्दिरको नाम पनि भुलभुले बाराही रहन पुग्यो ।
मन्दिरको स्थापना कहिले भयो, यसको ईतिहास के छ ?
यसको स्थापना कहिलेदेखी भयो भनेर कुनै लिखित प्रमाण र शिलालेख पनि नभेटिएको हुदाँ कहिले भयो भनेर यकिन छैन । तर हाम्रा पिता पुर्खाको कुरा सुन्दा १९ सय साल अघिदेखी नै मन्दिरमा पुजा गरिदै आएको भन्ने भनाई छ । पुर्खाहरुको भनाई अनुसार ढोरबाराही, छाब्दि बाराही, ताल बाराही मन्दिरको बहिनीको रुपमा भुलभुले बाराही मन्दिरलाई लिने गरेको पाईन्छ ।
एउटा घटना के भएको छ भने, १२३ कि.वि हेटैडा लाईन ल्याउने क्रममा वनको बिचमा रहेका रुखहरु फाड्ने काम भएको थियो । त्यस बेला एउटा वनपालेले मन्दिर छेउको एउटा रुख काटेछ । त्यसपछि वनपाले बौलाहा जस्तो हुने, बर्बराउने, देउता चढ्ने भएपछि हामीले सोध्यौ र उसले मन्दिर छेको रुख काटेको छ भनेपछि हामी हेर्न गयौ । मन्दिर वरीपरि हेर्दा एउटा रुख काटेको रहेछ । त्यसपछि हामीले पुजा ग¥र्यौ र भोलिपल्ट वनपालेले एउटा बोको मन्दिरमा ल्याएर काट्यो र पुजा गरेपछि आफै ठिक भयो । प्रत्यक्ष, भुलभुले बाराहीले दिएको दृष्टान्त चाँही त्यति नै हो मैले जानेको ।
पहिला मन्दिरको अवस्था कस्तो रहेको थियो ?
सुरुमा मुल नजिकै एउटा शिला थियो । त्यही शिलामा नै गाउँलेहरुले पुजा गर्थे । पछि गाउँलेहरु मिलेर ढुङ्गाको छानोे हालेर मन्दिर बनाईयो । त्यस बेला बाँदरहरु पनि धेरै हुने हुदाँ ढुङ्गाहरु चलाईदिने हुदाँ मन्दिर जिर्ण अवस्थामा पुग्यो । पछि गाउँपञ्चायत हुदाँ त्यसबेला ढलान गरेर मन्दिर बनाईयो । जुन अहिले पनि रहेको छ ।
मुख्य गरि मन्दिरमा कहिले पुजा हुन्छ ?
देवीको मन्दिर रहेको हुदाँ पुजा चाँही जहिले पनि गरिन्छ । तर, वास्तविक पुजा हरेक बर्ष चैते दशैको अष्टमीका दिन गाउँलेहरु सबै मिलेर सामुहिक पुजा गरिथ्यो । त्यस बाहेक अरुले व्यक्तिगत भाकल भए मनोकाँक्षा पुरा होस् भनेर पुजा चाही गरिरहन्थे जुन अहिले पनि गरिन्छ ।
अरु मन्दिर जस्तो यस मन्दिरमा भक्तजन साथै पर्यटकहरुको आगमन त्यति देखिदैन किन ?
अरु मन्दिर जस्तो भक्तजनहरु, पर्यटकहरुको आगमन यस मन्दिरमा अलि कम रहेको छ । मुख्य कारण भनेक्र प्रचार प्रसारको कमि हो । मन्दिरको प्रचार प्रसार जोड दिने हो भने अरु मन्दिरमा जस्तै भक्तजनहरुको पनि भिड लाग्ने र वाह्यि पर्यटकहरु पनि मन्दिरमा दर्शन गर्नका लागि आउने वातावरण सिर्जना हुन्छ । अहिले मन्दिर सम्म आउने बाटो पनि अलि राम्रो नभएको हुदाँ मन्दिरको सोचे जति विकास हुन सकेको छैन् ।