हरि खरेल/दुलेगौंडा । पहिलो र दोस्रो लहरमा फैलिएको कोरोनाले तनहुँका १४९ जनाको मृत्यु भएको छ । आईतबारसम्म उक्त संख्यामा कोरोना संक्रमतिको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयले दिएको तथ्याङ्क अनुसार दोस्रो लहरको सात महिनामा मात्रै १२४ जनाको मृत्यु भएको हो । पहिलो चरणमा फैलिएको कोरोनाले बर्ष दिनको अवधीमा २५ जनाको ज्यान लिएको थियो । दोस्रो लहरमा सात महिनामै ५ गुणा बढी संक्रमितको मृत्यु भएको हो । पहिलो र दोस्रो लहरबाट हालसम्म मृत्यु हुनेमा ५७ जना महिला र ९२ जना पुरुष रहेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको तथ्याङ्क शुक्लागण्डकीमा धेरै छ । शुक्लागण्डकी नगरपालिकामा ५१ जना संक्रमितको मृत्यु भएको हो । जसमा १४ जना महिला र ३७ जना पुरुष छन् । व्यास नगरपालिकामा २२÷२२ जना महिला र पुरुष गरेर ४४ जनाको मृत्यु भएको छ ।
भिमाद नगरपालिकामा हालसम्म २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ११ जना महिला र १२ जना पुरुष छन् । भानु नगरपालिकामा दुई जना महिला र सात जना पुरुष गरेर नौ जनाको मृत्यु भएको हो ।
म्याग्दे गाउपालिकामा चार जना महिला र ६ जना पुरुष गरि १० जनाको मृत्यु भएको छ । घिरिङ गाउँपालिकामा दुई÷दुई जना महिला र पुरुष, ऋषिङमा एक जना महिला, आँबुखैरेनी गाउँपालिकामा दुई जना महिला र एक जना पुरुष गरेर तीन जना, बन्दिपुर गाउँपालिकामा तीन जना पुरुष, देवघाट गाउँपालिकामा एक जना महिलाले कोरोना संक्रमणका कारण मृत्युवरण गरेका छन् ।
जिल्लामा आइतबारसम्म २१ हजार ६ सय ४३ जनाको कोरोना परिक्षण गरिएको छ । ६ हजार ९ सय ३ जनामा कोरोना पोजेटिभ पुष्टी भयो । १४ हजार ७ सय ३९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । ७ हजार ७ सय ३८ जना निको भएर घर फर्किएका छन् । हाल जिल्लामा २८ जना मात्र सक्रिय संक्रमित रहेको छन् ।