काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइएको छ ।
सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको आरोपमा सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो । ७६ वर्षीया सुकीमाथि अहिले भ्रष्टाचार, गोप्य ऐन उलंघनलगायत ११ वटा आरोप लगाइएको छ । म्यानमारमा गत वर्ष नोभेम्बरमा भएको आम निर्वाचनमा सुकीको पार्टीले जित हासिल गरेको थियो । तर त्यहाँको सेनाले चुनावमा धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्दै आएको छ । साथै सुकीलगायतका सत्तारुढ नेताहरुलाई जेलमा हालेर शासन सत्ता आफ्नो हातमा लिएको छ ।
म्यानमारको सेनाले कु गरेको विरोधमा चर्किएको आन्दोलनमा १ हजार ३ सय जना नागरिकको ज्यान गइसकेको छ । म्यानमारमा सुकीको लोकप्रियता अझै पनि कायम छ । उनलाई सैन्य शासनविरुद्धको संघर्षको प्रतीक मान्नेहरु असंख्य छन् ।