आफ्नो जन्म दिनलाई फरक तरिकाले मनाउने क्रममा दुलेगौंडा निवासी महिला उद्यमी श्रीमाया गुरुङले जन्म दिनको दिन शारिरिक अपाङ्गता भएकी दुर्गामाया विकलाई आर्थिक सहयोग गरेकी छिन् ।
उद्यमी गुरुङले शुक्रबार आफ्नो ४९ औं जन्मदिनको अवसरमा दुबै खुट्टा गुमाएकी शुक्लागण्डकी–३, बेसारेगौंडा निवासी ४१ वर्षिय विकलाई न्यानो कपडासहित नगद १० हजार ५ सय रुपैया प्रदान गरेकी हुन् । वि.क.को २०६१ सालमा रुखको घाँस काट्ने क्रममा लडेर मेरुदण्ड भाँचिएको हो । रिसेडको आर्थिक सहयोगमा उपचार गर्ने क्रममा उनको दुबै खुट्टा काट्नु परेको थियो ।
दुर्घटनामा उनको पीसाब थैली समेत फुटेकाले पायपमार्फत पिसाबको निकास हुदै आएको छ । नियमित रुपमा औषधी सेवन गर्दै आएकी वि.क.को मासिक करिव ३ हजार रुपैया औषधीमा खर्च हुने गरेको छ । ३/३ महिनामा पोखरास्थित हरियोखर्क अस्पतालमा नियमित रुपमा उपचार गराइरहेको विकले बताईन् । हाल उनका छोराले स्याहार सुसार गर्दै आएका छन् । उनी ह्वील चियरमा समेत लामो समय बस्न सक्दिनन् ।
दुलेगौंडाको केन्द्रमा रहेको गुरुङ स्टोर्सको संचालक गुरुङले यसअघि जन्मदिनमा पनि विभिन्न वृद्धाश्रममा गएर सहयोग गर्दै आएकी छिन् । उनले जन्मदिनमा घरमै आएर सहयोग गरेकोमा सहयोगदातालाई धन्यवाद दिईन् । जन्म दिनमा फजुल खर्च मात्र गर्नु भन्दा पिडामा रहेका मानिसहरुलाई सहयोग गर्नु उचित ठानेर सहयोग गरेको उनले बताईन ।