दुलेगौंडा । गुरूङहरूको महान पर्व तमु ल्होसार (मुप्रि ल्हो) को अवसरमा तमुकाे संस्कार र इतिहास बुझ्न र बुझाउन शुक्लागण्डकी–५ बेलचौतारामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएकाे छ । तमु ह्युल छों घीँ गुरूङ राष्ट्रिय परिषद् शुक्लागण्डकी नगर समितिले उक्त कार्यक्रम आयोजना गरेको थियाे ।
तमुहरूको इतिहास, उत्पत्ति, एकता, संस्कार र ल्होसारको महत्त्व, आजको राजनीतिक उपलब्धि र तमुको भुमिका लगायतका विषयमा अन्तरक्रिया भएको थियो ।
पृथ्वीनारायण शाहाले राज्य विस्तार गरेदेखीबाटै तमु/आदिवासीलाई उपेक्षा मापारियो : उपाध्यक्ष नरबहादुर
पृथ्वीनारायण शाहाले राज्य विस्तार गरेदेखीबाटै देशमा गुरुङ मात्र नभई आदिवासी जनजाती अर्थात रैथाने वासीलाई उपेक्षामा पारिएको तमु ह्युल छों घीँ गुरूङ राष्ट्रिय परिषद उपाध्यक्ष नरबहादुर गुरूङले बताए । ‘यो देशका गुरुङ, आदिवासी, यो देशका रैथानेवासीहरु पृथ्वीनारायण शाहाले राज्य विस्तार गरेदेखीबाटै उपेक्षामा परेका छन् । हाम्रा पिता पूर्खाहरुलाई शाहाहरुले विभिन्न रुपमा प्रस्तुत गरे । भाई–भारदार, काजि, सरदारको रुपमा हाम्रा पूर्खालाई प्रयोग गरियो । पछि हाम्रौ भाषा, कला, संस्कार, संस्कृति, पहिचान मेट्न थिचोमिचो गर्ने प्रयास भएपछि विगतदेखी नै आफ्ना पूर्खाले विद्रोह गरेको थिए’ उनले भने । राज्य एकिकरणको क्रममा पृथ्वीनारायण शाहले आम रुपमा सबै भाषा भाषि, संस्कृतिको राष्ट्रिय एकिकरण गरिदिएको भए तमुहरुले आजको विभेद र उपेक्षा भोग्नुनपर्ने तर्क प्रस्तुत गरे ।
व्यक्ति र संस्थाको नेतृत्व विकास गर्न आवश्यक छ : अधिकारकर्मी हरि सिंह तमु
तमु समुदाय पुरानो सोचबाटै अगाडी बढेको हुदाँ पछिल्लो समय तमुहरुको व्यक्ति र संस्थाको नेतृत्व विकास गर्न आवश्यक रहेको अधिकारकर्मी हरि सिंह तमुले बताए । नेपालको राजनीतिक परिर्वतनहरुमा तमुहरुलाई भ¥याङ्ग बनाईएको हुदाँ हरेक क्षेत्रमा तमुहरु एकजुट भएर अगाडी बढ्न सके मात्रै समुदाएको मात्र नभई देश विकासमा पनि टेवा पुग्ने अधिकारकर्मी तमुले बताए ।
हाम्रै संस्थाले हाम्रो लोपुन्मुख शास्त्र र संस्कार कहिले पनि खोजि गरेन : पच्यु गुरु यारजङ तमु
तमुहरुका संघसंस्थाले हराउन लागेको साथै लोपुन्मुख अवस्थामा रहेको तमुका शास्त्रहरु खोजि गर्न नलागेको पच्यु गुरु यारजङ तमुले बताए । यहि हामीले खोजि नगरे हाम्रो शास्त्र संगै संस्कार, संस्कृति, भाषा, धर्म हराएर जाने र भावि पुस्ताले आफ्नै भाषा र संस्कार भूल्ने पच्यु गुरु यारजङले बताए । गुरुङहरु पछिल्लो समय अन्य धर्मको अनुशरण गर्न बढी व्यस्त हुने गरेको बताए । ‘संसारमा एउटा मान्छे, दुईओटा धर्म मान्ने कोही छैन् । तर हाम्रो एउटा गुरुङ हिन्दु, बुद्ध, सच्चाई, बोन चार ओटा धर्म मान्छ । अन्य धर्मको त्यस्तो हुदैन, उनिहरुले कसैको वास्ता पनि गर्दैन ।’ उनले भने ‘अब हामीले पनि हाम्रो शास्त्र जानेर, हाम्रो धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा जुट्न जरुरी रहेको छ ।’
तमु ह्युल छोंज धिं गुरुङ्ग राष्ट्रीय परिषद शुक्लागण्डकी नगर समितिका अध्यक्ष मनराज गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ्ग राष्ट्रीय परिषद तनहुँका अध्यक्ष देव बहादुर गुरुङ लगायत नगर भित्रका तमुहरूकाे उपस्थिति रहेको थियाे ।