दुलेगौंडा । सिप र क्षमता विकासका लागि धेरैले तालिम लिने गर्दछन् । तर, तालिम लिएपछि व्यवहारीक रुपमा भने कमैले लागु गर्दछन् । यता तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका ग्रामीण क्षेत्रका स्थानीयहरुले भने तालिममा सिकेका सिपलाई व्यवहारीक रुपमा लागु गर्दै आत्मनिर्भ हुन थालेका छन् ।
शुक्लागण्डकीमा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत विभिन्न तालिमहरु सञ्चालित भएका छन् । नगरको वडा नम्बर १२ जामुने फेदीका महिलाहरुको समुहले दुई महिना अगाडी मात्रै अचार बनाउने सिप सिकेका थिए । हाल ११ जनाको समुहले अचारको उत्पादन र विक्री वितरण गरि आयआर्जन गर्न सुरु गरेका छन् । उत्पादित अचार समुहले गाउँ वरिपरि नै विक्रि वितरण गरेको प्रगति अचार समुहकी सचिव मञ्जु पौडेलले बताईन ।
समुहले गाउँमा उत्पादन हुने आँप, मुला, गाँजर, बन्दा, काउरोको अचार बनाउने गरेका छन् । सुरुमा एक हजार रुपैयाबाट अचार उत्पादन सुरु गरेको प्रगति अचार समुहले अहिले मासिक २५ हजार आम्दानि गर्ने गरेको समुहकी अध्यक्ष देवी गुरुङले बताईन् । उनका अनुसार विक्रिबाट प्राप्त रकम केही कोषमा र बाकी पैसा समुहले नै बाड्ने गरेको बताईन् ।
शुक्लागण्डकी नगरपालिका–६ बयाममा कृषक समुहले सिताके च्याउ खेति गरेका छन् । तालिम पश्चात गाउँमा १५ जनाको समुह बनाई च्याउ खेति सुरु गरेको स्थानीय फडिन्द्रबहादुर राना माक्सेले बताए । उनका अनुसार हाल उत्पादित च्याउ गाउँमा नै विक्रि वितरण भएको छ । समुहले उत्पादन वृद्धि गर्दै सहर बजारमा पनि विक्रि वितरण गर्ने लक्ष्य लिएको छ ।
शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा चप्पल बनाउने तालिम सञ्चालन भएको थियो । तालिम पश्चात समुहले चप्पल बनाउने र विक्रि वितरण गर्ने कार्य सुरु गरेको स्थानीय सावित्री बोहोराले बताईन् । ‘तालिम लिएपछि हामीले अहिले सामुहीक रुपमा चप्पल बनाउन थालेका छौ । उत्पादित चप्पल हामीले गाउँ वरिपरि नै विक्रि गर्दै आईरहेका छौं । उसबाट प्राप्त आम्दानी अहिले समुहमा नै राखिएको छ । अझै यसलाई बढाएर धेरै आम्दानी गर्ने र सबैलाई आम्दानीको केही प्रतिशत बाढ्ने योजनामा छौं’ उनले भनिन् ।
गरिबिको रेखामुनी रहेका ग्रामिण क्षेत्रका महिलाहरुलाई सिपविकास तालिम दिएर आत्मनिर्भर बनाएको उद्यमविकास सहजकर्ता गितान्जली उपाध्यायले बताईन । तालिममा स्थानीय उत्पादनको प्रयोगलाई जोड दिएको सहजकर्ता उपाध्यायले बताउछिन् ।