रिसिङ । कौराहा मगर समुदायको पहिचान हो । तनहुँ जिल्लाको दक्षिणी भेग रिसिङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको समुदायबाट कौराहा उत्पत्ति भएको पाईन्छ । डिजिटलमा बजारमा आएको रेकर्डेड कौराहाले मौलिक कौराहा ओझेलमा पर्न थालेपछि उद्गमस्थानका मगर समुदाय र पालिका मौलिक कौराहा संरक्षणमा जुटेका छन् ।
कौराहा गीत भर्खरका ठिटाहरूले खैँजडी बाजा बजाएर गाउने गर्छन् भने त्यस गीतमा चढ्दो उमेरका युवतीहरू ताल मिलाएर नाच्ने गर्छन् । कौराहाको संरक्षण र प्रबद्धन गर्न रिसिङका युवा युवति मौलिकता झल्काउने पोशाकमा विभिन्न कार्यक्रमहरुमा सहभागि हुने गरेको करिना थापा मगरले बताईन् ।
कौराहाको संरक्षण गर्न आफुहरुले विभिन्न संस्कृतिक कार्यक्रमहरुमा सहभागि हुने गरेको फलबहादुर थापाले बताए ।सरकारले पनि मौलिक कौराहा प्रतियोगिता राखेर संरक्षण र प्रबद्धनमा जोड दिनुपर्ने बताए । रिसिङकी रमिला थापा मगरले कौराहा सरक्षण गर्ने आफुहरुले हरेक हप्ता सिक्ने र साना भाईबहिनिलाई पनि सिकाउने गरेको बताईन् ।
कौराहा विशेषगरेर चैतदेखि जेठमहिनासम्म नचाईन्छ । कानराहबाट अप्रभंश भई कौराहा शब्द बनेको हो । कतिपयले यसलाई कौडा पनि भन्दछन् । खेतिपाति गर्दा हुने थकान र दुखलाई भुलाउनका लागि पनि कौराहा नचाईने गरेको पाईन्छ । कौराहा समुहमा नाचिने गिति नाटक रहेको संस्कृतविद दानबहादुर आले मगरले बताए ।
कौराहा रोधिमा नचाईएता पनि पछिल्लो समय कसैको घरमा कुनै शुभकार्य गर्दा साथै विभिन्न कार्यक्रम हुदाँ पनि नचाईन्छ । पहिले पहिले कुनै गाउँका तरुनीले अर्को गाउँका तन्नेरीलाई कौराहा नाच्न र गाउनलाई निम्तो पठाउँथे । निम्तो स्विकारेका तन्नेरीहरू कमिज, भांग्रा, कछाड र टोपीमा सजिएर रोधि पुग्ने गर्दथे । साँझपख सुरु भएको कौराहाले रात छर्लंग पार्दथ्य । बिहानपख सुरु भए साँझसम्म पनि कौराहाको रौनक हुन्थ्यो ।
मगर समुदायमा प्रचलित कौराहाको उद्गम स्थल हो तनहुँको रिसिङ, रिसिङबाट सुरु भएको कौराहा राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरमा पनि त्यति नै प्रचलित छ । यही कौराहा संरक्षण गर्न यतिबेला रिसिङका मगर समुदाय र गाउँपालिका तदारुकताको साथ लागि परेको छ ।
शास्त्र हराए परम्परा हराउछ, परम्परा हराए संस्कृति हराउछ र संस्कृति हराए मानव सभ्यता हराउछ । मानव सभ्यतासंग जोडिएको संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।