दुलेगौंडा । नेपालका अधिकांश किसानहरुले उत्पादन गरेको उपभोग्य वस्तु विक्री गर्न विचौलियाको भर पर्नुपर्ने बाध्यता रहेको छ । यही बाध्यिता तनहुँका सुन्तला उत्पादन गर्ने किसानहरुलाई पनि छ । बर्षभरी रोग, प्रकृतिक प्रकोप र बादरबाट जोगाएर सुन्तला उत्पादन गरे पनि किसानले ठूलो परिणममा सुन्तला विक्री गर्ने ठाउँ नपाउँदा विचौलियाको भर पर्नु पर्छ ।
आफैले सुन्तला विक्री गर्न नसक्ने हुदाँ उत्पादीत सुन्तला विक्री गर्न विचौलियाकै भर पर्नुपर्ने बाध्यता रहेको नाम्सीकोटका स्थानीय रणबहादुर भुजेलले बताए । विगतमा ठेकेदारबाट धेरै घात भएको हुदाँ सरकारले नै मजार व्यवस्थापन गरिदिए किसानलाई राहत मिल्ने उनको भनाई रहेको छ ।
नाम्सीकोटकै सुन्तला कृषक हुन् सानुमाया महत । यस बर्ष सुन्तला उतपादन धेरै भए पनि विक्री गर्ने ठाउँ नपाउदाँ पुस सम्म पनि सुन्तला रुखमा नै रहेको बताईन् । ठेकेदारको भरमा विक्री गर्न खोजे पनि सुन्तलाको उचित मूल्य पाउन नसकेको बताईन् । ‘सुन्तला विक्री गर्न ठेकेदारकै भर पर्नुपर्छ । उनिहरुले भनेको मूल्यमा सुन्तला नदिदा सुन्तला रुखमा नै रहन्छ । यसले गर्दा कम मूल्यमा सुन्तला बेच्न हामी बाध्य छौं’ उनले भनिन् ।
तनहुँमा उत्पादित सुन्तला चितवन, काठमाण्डौं, ललितपुर, भक्तपुर लगायतका बजार क्षेत्रमा विक्री हुने गर्दछ । किसानको सुन्तला ठेक्कामा लिएका ठेकेदार समुहका बलबहादुर भण्डारीले आफुहरुले पनि बजार पाउन गाह्रो भएको बताछन् । साथै यस बर्ष धेरै सुन्तला उत्पादन भए पनि बजारमा मूल्य कम रहेको उनिहरुको भनाई छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाको नाम्सीकोट, म्याग्दे गाउँपालिकाको उमाचोक, व्यासको बेनीकोट, देवघाटको छिपछिपे सुन्तला उत्पादको लागि परिचित क्षेत्र हुन् । यस क्षेत्रमा बर्षिनि करोडौंको सुन्तला उत्पादन हुन्छ । तर, कृषकले सुन्तला बिक्री गर्ने बजार नपाउदाँ विचौलिया र ठेकेदारकै भर पर्नुपर्ने बाध्यता छ ।