पोखरा । सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान भएकाहरुलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेस चरित्र पुनःस्थापित गरौं’ मुख्य नारा लेखिएको थियो ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवा पोखरा आइपुगेपछि ब्यानरमा लेखिएको नाराका विषयमा प्रदेश सभापति शुक्रराज शर्मासँग रिसाएका थिए । कांग्रेस गण्डकीका एक पदाधिकारीकाअनुसार ब्यानरमा सभापतिको फोटो नभएकोप्रति पनि देउवाको आपत्ति थियो । त्योभन्दा पनि ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य किन राखेको भन्दै देउवाले आपत्ति जनाएको ती पदाधिकारीले जानकारी दिए ।
नाराका विषयमा देउवा र प्रदेश सभापति शर्माबीच भनाभन नै भएको थियो । कार्यक्रम सुरु भइसक्नुपर्ने बेलासम्म पनि देउवा र शर्माबीच नाराका विषयमा विवाद भएको थियो । देउवाको निर्देशनपछि कार्यक्रम सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्र ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यमा हरियो टेप टाँसेर कार्यक्रम सुरु भएको हो । स्राेत :अनलाइन खबर