दिपेन्द्र पाैडेल/युएई । संयुक्त अरब ईमिरेट्स (युएई) का लागि नवनियुक्त नेपाली राजदुत तेजबहादुर क्षेत्रीले नेपाली दुताबासलाई सबै नेपालीको साझा थलो बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । आईतबार विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु संग कुरा गर्दै क्षेत्रीले नेपाल र यूएई बिच भाईचाराको सम्बन्ध स्थापना गर्न पहल गर्ने तथा दुई देश विच भएको कुटनैतिक सम्बन्धलाई थप मजबुद र संस्थागत गर्दै लैजाने बताएका हुन् ।
नेपाल र यूएई विच भएको कुटनैतिक सम्बन्ध स्थापना भईसकेपछि क्षेत्री चौथो राजदुतका रुपमा नियूक्त भएका हुन ।
कार्यक्रममा बोल्दै नेपाली एसोसियसन एनआरएनएका अध्यक्ष विकास शाहीले दुताबासले दुताबासको परिसर भित्र ठाँउ उपलब्ध गराएको खण्डमा २ वर्षका लागि संस्थालेनै कर्मचारी तथा सम्पूर्ण व्यवस्थापन गर्ने गरि निशुल्क सेवाग्राही सहायता कक्ष (हेल्प डेक्स) को व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गर्नु गरेका थिए । साथै उनले भिजिट भिषामा आउने करिब ९८ प्रतशित नेपालीहरु रोजगारीकै लागि आउने हुँदा दुतावासले सोही बमोजिमको पोलिसी तयार गर्न पनि आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समितिका मनोज कुमार सैजु, जनप्रगतिशिल मञ्चका बाबुराम विश्वकर्मा, रमेश श्रेष्ठ, पासाङ शेर्पा, मोनिका नगरकोटी, नेपाली पत्रकार महासंघका मेघराज सापकोटा, निराजन खत्री, चन्द्रप्रसाद सापकोटा, बाबुराम सापकोटा लगायतले कार्यक्रममा आफ्नो कुरा राखेका थिए ।