दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जहाँ नगरपालिकाले बजारमा बिक्री गर्न राखेका अखाद्य वस्तुहरू जफत गरेको छ ।
आम सर्वसाधारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले म्याद गुज्रिएको खाद्य सामग्री जफत गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए । ‘हामीले चाडपर्व लक्ष्यित बजार अनुगमन सुरू गरेका छौं । नेपालीहरूको महान चाडपर्वहरू आउदै गर्दा आम सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर पु¥याउने खाद्य सामग्री बिक्री वितरण नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरेका हौ’ उनले भने । लम्सालका अनुसार नगरपालिकाले २६ गतेसम्म नगरका विभिन्न बजार क्षेत्रमा अनुगमन गर्ने छ ।
आईतबार (आज) नगरपालिकाले दुलेगौडाको बजार क्षेत्रमा रहेका किराना पसल, मासु पसल, ,फलफूल तथा तरकारी पसल, होटल लगायतका खाद्य व्यवसायिक क्षेत्रमा अनुगमन गरेको छ । नगरले ‘शुक्लागण्डकी नगरपालिकाको वजार निर्देशिका–२०७५’ बमोजिम बजार क्षेत्र अनुगमन गर्दै आएको छ ।