दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा लामो समयदेखि फोहोरको उचित व्यवस्थापन हुन सकिरहेको छैन । ६ बर्षअघि नगरले शुक्लागण्डकी–५ कसेरीडाँडामा फोहोर संकलन केन्द्र स्थापना गरेको भए पनि नगरपालिकामा फोहोरको उचित व्यवस्थापन गर्न सकेको छैन् । एकातिर फोहोर संकलन केन्द्र प्रयोगविहीन बनेको छ भने अर्कोतिर खुल्ला ठाउँ, खोल्सा तथा नदीका किनारमा फालिएको फोहोरले समृद्ध शुक्लागण्डकी नगरपालिकालाई गिज्याइरहेको छ ।
नगरपालिकाका पूर्व मेयर किसान गुरुङले शुक्ला न्यूज संगको संवादमा भनेका थिए ‘म आफ्नो कार्यकालमा फोहोरको उचित व्यवस्थापन गरेर विदाई हुनेछु’ तर भनेजस्तो भने भएन । उनको कार्यकाल सक्कियो तर नगरको फोहोर व्यवस्थापन कार्य सक्किएन ।
संघियतापछिको दोस्रो निर्वाचन भएर करिब डेढ बर्ष बित्न लाग्यो तर पनि फोहोर व्यवस्थापनको समस्या भने ज्यूका तिउ छ । नगरपालिकाले फोहोर व्यवस्थापन निरन्तर अग्रसर भईरहेको बताएता पनि आजसम्म प्रगती शून्य जस्तै छ । नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले अबको केही समयमा नै फोहोरको उचित व्यवस्थापन गर्ने बताएका छन् । ‘हामीले फोहोरको व्यवस्थापनका लागि निजि क्षेत्रलाई जिम्मा दिने भनेर टेण्डर प्रक्रिया आवहान गरेका थियौं । हाल ४ वटा संस्थाले टेण्डर हालेका छन । अब चाडै ती संस्थाहरु मध्य मुल्यांकन गरी कुनै एक संस्थाको छनौट गरी फोहोर व्यवस्थापनको जिम्मा दिने छौं । अबैको एक महिनामा निजि संस्थालाई टेण्डर जानेछ र काम सुरु हुन्छ’ उनले भने ।