दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–३ बन्केवामा भएको वृहत स्वास्थ्य शिविरमा ४७४ जनाले निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गराएका छ । फेवासिटी हस्पिटल र अमर पाेलिक्लिनिककाे प्राविधिक सहयाेगमा शुक्लागण्डकी नगरपालिका ३ नम्बर वडा कार्यालयकाे आयाेजनामा स्वास्थ्य सुविधाको पहुँचबाट टाढा रहेका ग्रामिण भेगका जनातालाई लक्षित गरी उक्त शिविर सञ्चालन गरिएको थियो ।
गाउँमा नै वडाले शिविर सञ्चालन गर्दा सामान्य परिक्षणको लागि बजारसम्म जानुपर्ने अवस्थाको अन्त्य भएको स्थानीय विमलादेवि लम्सालले बताईन । ‘अब सामान्य उपचारको लागि बजार जान पर्थ्यो । पैसा पनि खर्च हुन्थ्यो । अब वडाले यही यस्तो सुविधा दिदा हामीलाई धेरै सहज भयो’ उनले भनिन ।
बन्केवामा नै जम्नेका डा. विक्रम बहादुर कार्कीले आफ्नै क्षेत्रको नागरिकको स्वास्थ्य परिक्षण गराउन पाउदा निकै खुसी लागेको बताए । यस क्षेत्रबाट धेरै डाक्टरहरु उत्पादन भएको हुदाँ आफुहरुले बर्षमा सके २ पटक नसके एक पटक मात्रै भएपनि शिविर सञ्चालन गर्ने बताए ।
ग्रामीण क्षेत्रमा शिविर सञ्चालन विरामीलाई थाहा नभएको रोग पत्ता लगाई समयमा नै समाधान गर्न सहयोग पुग्ने वरिष्ठ फिजिसियन डाक्टर बुद्धिबहादुर थापाले बताए । ‘शिविरमा आएर सुगर, प्रसर, भिडियो, इसिजि परिक्षण गर्दा कतिपएका थाहा नभएको रोग थाहा हुने हुन्छ । आज पनि कतिको मुटुरोग देखियो, कतिको मिर्गाैलामा पत्थरी देखियो । विरामीले थाहा नपाएका, रोगले धेरै समस्या नदेखिएको तर जाँच्ने क्रममा धेरै रोगहरु पत्ता लाग्ने हुदाँ यस्ता शिविर आवश्यक रहन्छ’ उनले भने ।
ग्रामीण क्षेत्रका नागरिकले स्वास्थ्यको ख्याल नगर्दा सानो समस्याले ठूलो क्षेत्री हुने हुदाँ जनचेतना फैलाउन र नागरिकलाई स्वास्थ्य सुविधामा पहुँच पु¥याउन शिविर सञ्चालन गरिएको वडाध्यक्ष सचिन भुजेलले बताए । ‘गाउँका मानिस कतिलाई स्वास्थ्य सम्बन्धी जनचेतना नै छैन्, केही समस्या भन्न र देखाउन सर्म मान्ने हुन्छ । सामान्य रोग पनि ठूलो भएर भोलिका दिनमा ज्यानको समेत जोखिम हुन हुन्छ । त्यसैले वडामार्फत शिविर सञ्चालन गर्दा स्वास्थ्य सेवामा नागरिकको पहुँच पुग्ने हुदाँ हामीले शिविर सञ्चालन गरेका हौं’ उनले भने ।
शिविरमा वडा नं ३ सहित अन्य विभिन्न वडाबाट विरामीहरु स्वास्थ्य जाँचका लागि आएका थिए । पेट, मुटु, छाती, हाडजार्नी, नशा, बाल रोग, आँखा तथा छाला रोग, नाक, कान, घाँटी, स्त्री तथा प्रसुति रोग संग सम्बन्धित विभिन्न रोगहरुको जाँच गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको थियो । साथै, भिडियो एक्सरे, इसिजी र रगत जाँच समेत निशुल्क रुपमै गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै शुक्लागण्डी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले आफुहरु नगरवासीको स्वास्थ्यप्रति सजक रहेको र यस्ता किसिममा स्वास्थ्य शिबिर बिशेष प्रभावकारी हुने रहेको बताए । कार्यक्रममा नगर उप प्रमुख खुब बहादुर बिक, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे, वडाध्यक्ष राजकुमार वाग्ले, दीर्घबहादुर थापा, बुद्धिबहादुर थापा, खड्ग सिं थापा मगर, राजेन्द्र क्षेत्री भट्टराई, कार्य समिति तथा वडा सदस्यहरु समेत सहभागी थिए । कार्यक्रमको संचालन वडा सचिव सुरज पौडेलले गरेका थिए भने वडा सदस्य, महिला स्वास्थ्य स्वंयमसेविका, टोल विकास संस्थाका पदाधिकारी तथा युवा क्लबका सदस्यहरु स्वयमसेवकको रुपमा खटिएका थिए । फेवासिटी हस्पिटल र अमर स्वास्थ्य पोलिक्निकको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको थियो । साथै, खैरेनीटारको नेपाली सेनाले मेडिकल टिमसहित अन्य व्यवस्थापनमा समेत सहयोग पुर्याएको थियो ।