दुलेगौंडा । तनहुँको व्यास नगरपालिकाले दमौलीमा बुधबारे हाटबजार सुरु गरेको छ । उपभोक्ता र किसानको सिधा सम्पर्कमा स्थानीय उत्पादनलाई विक्री वितरण गर्न बुधबारे हाटबजार सुरु गरिएको हो ।
हाटबजारको सुभारम्भ कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य स्वर्णीम वाग्लेले स्थानीय हाट बजारका कारण कृषकलाई आफ्नो उपभोग्य बस्तु विक्री गर्न सहज हुने र उचित मूल्य पाउने बताए । बिस्तारै हाट बजारलाई परिस्कृत गर्दै अनलाईन हाटबजारको रुपमा विकास गर्नुपर्ने उनको भनाई छ । अनलाईन हार्ट स्थापना हुन सके उत्पादन र विक्री वितरणमा बिचौलीयाको अंश शुन्यमा झर्ने बताए ।
कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बुधबारे हाटबजार उपभोक्ता र किसानसंग जोडीएको बजारको रुपमा स्थापना हुने बताए । एकादशि बजार, माघे संक्रान्ति बजार लगाय पुराना परम्पराका बजार हराउदै जान लागेपछि नगरले बुधबारे हाटबजार सुरु गरेको उनको भनाई छ । उनका अनुसार स्थानीय कृषि उत्पादन विक्री केन्द्र भनेर नगरले १३ वटा स्टल स्थापना गरेको छ । जहाँ निशुल्क रुपमा कृषकहरुले आफ्ना उपभोग्य वस्तु विक्री वितरण गर्न सक्ने छन् ।