दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ३ नम्बर वडा कार्यालयले नारिहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीजगीत प्रतियिोगिता आयोजना गर्यो । उक्त प्रतियोगितामा ३ नम्बर वडाभित्रका विभिन्न टोल सहभागि थिए । प्रतियोगितामा सहभागि समुहले तीजगीतमा नारिका समस्या संगै दुलेगौंडा-हर्कपुर मोटर मार्गलाई प्रमुख विषय बनाएर गीत प्रस्तुत गरे ।
मन दुखेर २/४ टुक्का गाउन सुरु गरेको
हर्कपुर मोटर मार्ग पछि परेको
यो तीजगितको टुक्का शुक्लागण्डकी नगरपालिका–३ बन्केवाकाे शिवालय आमा समुहले प्रस्तुत गरेको गीतबाट साभार गरिएको हो । यो समुहले प्रतियोगितामा प्रस्तुत गरेका हरेक टुक्का हर्कपुर मोटर मार्गसंग जोडिएको छ । ३० वर्ष अगाडिदेखि बाटोको सर्भे भएता पनि सडक आजसम्म अलपत्र परेको गुनासो समुहले गितमाफ नै गरेका छन् । सुरुमा बाटो खन्दा गाउँलेको मन हरहर भए पनि अहिले त्यही बाटोमा हिड्दा चिप्लीएर मर्ने डर भएको कुरा समुहले व्यक्त गरेका छन् । साथै उनिहरुले चाडै यस समस्याको समाधान गरिदिन सम्बन्धीत निकाय र जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन् ।
दुलेगौंडा पानी पर्यो कालीमर्याङ ठोक्कीयो
तिज आयो माईत जाने बाटै रोक्कीयो
यो तीजगीतको टुक्का कालिमर्याङका आमा समुहको हो । सोही प्रतियोगितामा उनिहरुले पनि बाटोका कारण चाडपर्वको समयमा आवत जावत गर्न समस्या रहेको गीतमार्फत प्रस्तुत गरे । बाटोमा अवस्थाका कारण तीजको बेला माईत जान समेत मुस्किल भयो भन्दै गीतमार्फत जनप्रतिनिधिलाई व्याङ्गे प्रहार गरेका छन् ।
एक नम्बरमा असुविधा बाटो अनि गाडीको
सधै हामीलाई समस्या छ भेल बाढीको
यो गीतको टुक्का शिवशक्ती आमा समुह कवासले प्रतियोगिता प्रस्तुत गरेको गीतबाट साभार गरिएको हो । उनिहरुले प्रतियोगिता वडा भित्रका र सोही वडा हुदै पुग्ने पर्यटकीय गन्तव्यको बारेमा चर्चा गर्दै बाटोको समस्यालाई प्रमुख रहेको बताएका छन् । विशेष गरेर यस वडाका नागरिकलाई पानी परेपछि बाटो बिग्रने, भल–बाढीको समस्या रहने बिषय गितमार्फत प्रस्तुत गरेका छन् ।
तीजको मौलीक विशेषता अन्र्तगत तीजगीत पनि लिईन्छ । तीजमा नारिहरुले आफ्ना मनका वह पोख्न तीजगीतलाई साधन बनाएर प्रस्तुत गर्दछन् । विशेष गरेर तीजगीतमा विवाहीतमा नारिले विवाह पछि पाएका दुख, श्रीमान, सासु, ससुरा, जेठाजु, छिमेकी आदिले दिएको पिडाका विषयलाई गति, यति र लय मिलाएर गीतमार्फत प्रस्तुत गर्दछन् । तर, यस क्षेत्रका नारिहरुले भने महिलाका समस्यालाई छाडेर हर्कपुर मोटर मार्गलाई प्रमुख बिषय बनाउदाँ लाग्छ, यस क्षेत्रका महिलालाई आफ्नो पिडा भन्दा मोटर मार्गले दिएको पिडा बढी छ । त्ययसैले सम्बन्धीत निकाय र जनप्रतिनिधिले हर्कपुर मोटर मार्गको बिषयलाई प्रमुख महत्व दिनुपर्ने देखिन्छ ।