दुलेगौंडा । ह्वाईट हाउस ब्याडमिन्टन क्लबले शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ खुल्ला ‘बि लेबल’, शुक्लागण्डकी स्तरीय ‘सि लेबल’ र तनहुँ जिल्ला स्तरीय ५० बर्ष माथिको भेट्रन्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको हो ।
‘बि लेबल’ ब्याडमिन्टन प्रतियोगिता तर्फ प्रथम हुनेले नगद २५ हजार, द्धितीय हुनेले नगद १५ हजार र तृतीय हुनेले नगद ७ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक कृष्ण श्रेष्ठले बताए ।
यसैगरि शुकलागण्डकी नगरपालिका स्तरीय ‘सि लेबल’ ब्याडमिन्टन प्रतियोगिता तर्फ प्रथम हुनेले नगद २० हजार, द्धितीय हुनेले नगद १० हजार र तृतीय हुनेले नगद ५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस प्रतियोगितामा अन्य पालिका र जिल्लाका नागरिक सहभागि हुन पाउने छैनन् ।
तनहुँ जिल्ला स्तरीय भेट्रन्स ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्धितीय हुनेले नगद ७ हजार र तृतीय हुनेले नगद ४ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक श्रेष्ठले बताए । उनका अनुसार भेट्रन्स प्रतियोगितामा ५० बर्ष माथिका खेलाडी मात्रै सहभागि हुन पाउने छन् ।
स्थानीय तथा जिल्ला स्तरबाट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष बिष्णु रानाले बताए । उनका अनुसार प्रतियोगितामा प्राप्त केही रकम गरिब तथा विपन्न खेलाडीलाई सहयोग गर्ने बताए । प्रतियोगिताको अवसरमा बालबालिकालाई पनि ब्याडमिन्टन खेलतर्फ आकर्षण गराउन १५ बर्ष मुनीका बालबालिका बिच पनि प्रतियोगिता गराईने भएको छ ।
क्लबका अध्यक्ष रानको् सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा देब गुरुङ, कमल राना, रघुनाथ पौडेल, क्लबका सचिब रुपक मल्ल लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिताको उद्घाटन शत्रमा गण्डकी प्रदेशका सभा सदस्य श्यामराजा महतको उपस्थित रहने आयोजकले जनाएको छ । प्रतियोगिता यहि भदौ २२ र २३ गते सञ्चालन हुने भएको छ ।