खैरेनीटार । शुक्लागण्डकी सरोकार मञ्चको आयोजनामा शनिबार खैरेनीटारमा रैथाने बीऊ संरक्षण विषयक अन्र्तक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रमका सहभागीहरुले अन्न, तरकारी, फलफूल तथा पशुचौपायमा रैथाने जात हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै रैथाने बीउहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्राकृतिक खेती गर्ने कृषक महेन्द्र श्रेष्ठले हाईब्रिड बीउहरुको प्रयोग बढ्दै जादाँ रैथाने बीउहरु मासिनुका साथै मानव स्वास्थ्यमा समेत असर पारिरहेको बताए । हाईब्रिड वीऊ, रासायिनिक मल र विषादीको बढ्दो प्रयोगले पोषणयुक्त खाना उत्पादन नहुने, खानामा मौलिक स्वाद हराउने, नेपाली मुद्रा विदेश जाने जस्ता समस्या निम्त्याएको भन्दै श्रेष्ठले गुणात्मक उत्पादनका लागि मौलिक प्राकृतिक खेती पद्वती अपनाउनुपर्ने बताए । धान, मकै जस्ता अन्नका स्थानीय जात मासिनु तथा कोदो जस्ता रैथाने बालीमा समेत रासायिनिक मलको प्रयोग हुनु दुःखद भएको श्रेष्ठले बताए ।
रैथाने बीउ मासिदाँ संस्कृति मासिने भन्दै माटो सुहाउँदो खेती गर्नुपर्नेेमा श्रेष्ठले जोड दिए । विकसित मुलुकहरुमा प्राकृतिक उत्पादनको माग बढिरहेको भन्दै श्रेष्ठले गुणस्तरीय उत्पादन गर्न सकें बजारको समस्या नहुने बताए । आफुले १ हजार रुपैयाँ प्रति केजी बेसार विक्रि गर्ने गरेको अनुभव श्रेष्ठले सुनाए ।
अन्र्तक्रियामा सहभागी किसानहरुले रैथाने बीऊ कसरी जोगाउने भन्ने सम्बन्धमा सरकार गम्भीर हुनुपर्ने बताए । शुक्लागण्डकी नगरपालिकाका वडा नं. ६ का अध्यक्ष बुद्वि बहादुर थापाले सरकारी स्तरबाटै रैथाने बीउ जोगाउने कार्यक्रम ल्याउन पहल गर्ने बताए । वडा नं. १२ का अध्यक्ष ईन्द्र गुरुङले स्वास्थ मानव जीवनको पहिलो प्राथमिकता भएकाले रैथाने कृषि उत्पादनमा सबैको ध्यान जान आवश्यक भएको बताए ।
शुक्लागण्डकी सरोकार मञ्चका अध्यक्ष सुरेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मञ्चका सदस्य तथा पशु विकास अधिकृत मुक्ति पौडेलले गरेका थिए ।