दुलेगौँडा । तनहुँको शुक्लागण्डकी–५, गणेश टोलस्थित बेलचौतरा शिव पाञ्चायन मन्दिरमा आजदेखि पुरुषोत्तममास कथा महात्म्य-२०८० सुरु भएको छ ।
४५ बर्ष अघि स्थापना गरिएको बेलचौतरा शिव पाञ्चायन मन्दिरको विकास गर्ने उद्धेश्यले कथा महात्म्य गरिएको मूल समारोह समिति संयोजक बाबुराम कार्कीले जानकारी दिए । उनका अनुसार धार्मिक अनुष्ठानबाट संकलित रकमबाट मन्दिर परिसरमा पानीको फोहोरासहितको शिवलिङ्ग स्थापना, मन्दिर व्यवस्थापन तथा अक्षयकोष स्थापना र धार्मिक कार्यक्रमहरु व्यवस्थित रुपमा संचालन गर्नका लागि सभा हल निर्माण गर्ने पवित्र उद्धेश्य राखिएको छ ।
कार्यक्रम सुरु हुनुअघि शुक्ला नागढुङ्गा पार्कस्थित सेती नदीबाट कलश यात्रा सुरु गरिएको थियो । कलश यात्रामा वडा नं-५ भित्रका टोल, आमा समुह, युवा समुह लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि व्यानरसहित सहभागी भएका थिए ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले शुक्लागण्डकी वडा नं ५ धार्मिक आस्थाको केन्द्र विन्दु शिव पञ्चायन मन्दिर रहेको बताए । उनले मन्दिरकाे विकासका लागि व्यक्तिगत र नगरपालिकाकाे तर्फबाट पनि आवश्यक सहयाेग गर्ने बताए । उनले उक्त धार्मिक अनुष्ठानमा व्यक्तिगत रुपमा २० हजार ६११ रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् ।
कार्यक्रम मुल आयोजक समितिका संयोजक बाबुराम कार्कीले यो यज्ञ सवैको भएकाले जसले जे सकिन्छ त्यसरी सहयोग गरेर पुण्यलाभ लिन आग्रह गरे । कार्यक्रममा शुक्लागण्डकी वडा नं-५ का वडाध्यक्ष दीर्घबहादुर थापा, प्रमुख कथावाचक केदारनाथ भण्डारी कुसुम, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश केसी, आर्थिक उपसमितिका संयोजक शिवराज गौतम लगायतले बोलेका थिए ।