दुलेगौडा । शुक्लागण्डकीमा आदिवासी जनजातिले २९ औं विश्व आदिवासी दिवस साँस्कृतिक कार्यक्रम सहित मनाउने भएको छ ।
आदिवासी जनजातिको परम्परागत ज्ञान सिपको प्रवद्धन गर्दै पूख्यौली भुमी, भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा नगर क्षेत्रभित्र वसोवास गर्ने आदिवासी जनजाति समुदायले कला, संस्कृति र भेषभुष भल्कने कला सहितको झाकी प्रस्तुत गर्ने भएका छन् ।
सन् २०१९ देखि २०२९ सम्म अन्तराष्ट्रिय भाष दिवसको रुपमा मनाउने निर्णय भए बमोजिम औपचारिक कार्यक्रममा प्रत्येक आदिवासी जनजाति समुदायका एक÷एक वक्ताहरुले आफ्नै मातृभाषामा बोल्ने भएका छन् ।
दिवस मनाउन शुक्लागण्डकीका दुईहजार बढी आदिवासी जनजातिहरु भेला हुने आदिवासी जनजाति महासंघ, नगर समन्व्य समितिका सचिव सुमन आलेले जानकारी दिए । उनका अनुसार दिवसवारे जानकारी गराउनुका साथै आफ्नो भेषभुषा, कला, संस्कृति संरक्षण र अधिकार सुनिश्चिताको लागि दबाब दिन यो संख्यामा उपस्थिती गराउन लागिएको हो ।
शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्र मगर, गुरुङ, नेवार, भुजेल, कुमाल, तामाङ, राई र थकाली गरि ८ जातिका मानिसहरु वसोवास गर्दछन् । वि सं. २०७८ को जनगणना अनुसार नगरपालिका भित्र भण्डै ३५ हजार आदिवासी जनजातिहरु वसोवास गर्दछन् । जनजातिको बाहुल्यता रहेको यस नगरपालिकामा हरेक बर्ष आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक विदा हुने गर्दछ ।