कोत्रे । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेका युवापुस्तालाई जनै बनाउने सिप सिकाईएको छ । कोत्रेस्थित सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिले जनै बनाउने तालिमको आयोजना गरेकोे हो ।
पुरानो पुस्ताले जनै बनाउँदै आएपनि यसतर्फ नयाँपुस्तामा आकर्षण नदेखिएको हुदाँ तालिमको आयोजना गरिएको समितिका अध्यक्ष खेमराज खनालले जानकारी दिए । ‘ब्राह्मणले लगाउने जनै विदेशबाट आयात भइरहेको छ, आफुले लगाउने जनै आफै उत्पादन गर्नुपर्छ भन्ने लाग्यो । यो सीप पुस्तान्तरणको प्रयास पनि हो ।’ उनले भने ।
समितिले जनैपुर्णिमालाई लक्षित गरि तालिम संचालन गरिएको अध्यक्ष खनालले बताए । तालिममा धागो तेब्राउने, सिका पार्ने र ६ सराको बनाउने सीप सिकाइएको छ । प्रशिक्षार्थीहरुलाई विश्वहिन्दु महासंघ गण्डकीका कोषाध्यक्ष विवेक खनाल, महा संघका शुक्लागण्डकी सचिव पदमराज बराल, पुजारी जगत भट्टराई, रामजी भण्डारी र शारदा भण्डारीले जनै बनाउने सीप सिकाएका हुन् । तालिममा १७ जना सहभागि रहेका थिए ।