चितवन । चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले उपनिर्वाचन पछिकाे एक सय दिनकाे अवसर आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् ।
बेलुनले सजाएको निलो रंङको बसमा निलो सारी लगाएका महिलाहरु बसेका थिए । बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा ‘रवि दाइलाई चिठ्ठी’ लेखिएको छ । सानो आकारको बसमा महिलाहरुले आफूले झर्ने ठाउँमा थिच्नका लागि स्विच राखिएको छ ।
यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क क्लिनिक सेवा पनि दिने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । निलो रंगको एम्बुलेन्समा निःशुल्क क्लिनिक लेखिएको छ । हरेक दिन नयाँ टोलमा गएर ६५ माथिका वृद्धवृद्धालाई उपचार सेवा दिने बताइएको छ ।
उनले दुईवटा विद्यालयलाई प्रविधिसहितको नमूना विद्यालय बनाउने घोषणा गरेका छन् भने १०० जनालाई रोजगारीको घोषणा गर्दै आवेदन मागेका छन् ।