दुलेगौंडा । शुुक्लागण्डकी २ स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा “शिव महिमा तथा बोलबम धार्मिक महोत्सव–२०८०” सोमबार देखि शुरु भएको छ । उक्त धार्मिक महोत्सव श्रावण महिनाको ८ गते देखि १५ गते सम्म संचालन हुनेछ ।
सोमबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका विच “शिव महिमा तथा बोलबम धार्मिक महोत्सव–२०८०” को उद्घाटन गरेका हुन् । सोमबार उदघाटन पुर्व शुक्लागण्डकी नगरपालिका गेटबाट बाजागाजा सहित कलश यात्रा शुरु भई च्यवनधाममा आई टुंगिएको थियो । कार्यक्रम पुर्वमन्त्री एवं संबिधान सभा सदस्य आशा कोईराला, प्रदेश सभा सदस्य श्यामराजा महत, प्रदेश सभा सदस्य असोक श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य राख्दै कार्यक्रमको बारेमा जानकारी समेत दिएका थिए । कार्यक्रम महोत्सब समितिका संयोजक बिमल प्रसाद रिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
८ दिन सम्म चल्ने उक्त बोलबम धार्मिक महोत्सवमा भागवात वाचिका राधिका दासी महाराजले प्रवचन दिने धाम कार्यसमितिका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए । उनका अनुसार यस बर्ष धामका साथसाथै शुक्लागण्डकी ९ स्थित गौ संरक्षण केन्द्रको अवलोकन एंव् गौसेवाको कार्यक्रम राखिएको छ । महोत्सवको क्रममा भक्तजन तथा दानवीरहरुबाट संकलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिने लम्सालले बताए ।
धामले प्रत्येक वर्ष श्रावण महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ । महोत्सबले यस क्षेत्रको धार्मिक तथा पर्यटन बिकासमा सहयोग गर्ने भएको हुँदा सबैमा सहभागी हुन समारोह समितिका संयोजकमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल अनुरोध गर्नु भएको छ ।