दुलेगौंडा । तनहुँ जिल्लाका ४ वटा स्थानीय तहको बजेट पास भएको छैन् । पास नहुनेमा भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका र घिरिङ गाउँपालिका रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको दश गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नु पर्ने छ’ भनिएको छ। बजेट वक्तव्य सभामा पेस गरेको भए पनि तनहुँका ४ स्थानीय तहहरूको बजेट पास भएको छैन ।
सभामा बजेट पेस नै गर्न नसकेका तथा पेस भएर पनि पारित हुन नसक्नुको कारण राजनीतिक प्रतिस्पर्धा भएको देखिएको छ। नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिको अध्यक्ष र उपाध्यक्ष एउटै राजनीतिक दल वा गठबन्धनबाट जितेको भए पनि कार्यपालिकामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यहरू फरक आस्थाका राजनीतिक दलहरूबाट रहँदा समस्या देखिएको छ।