काठमाण्डौ – देशभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिनै लाग्दा यसवर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गएको वर्ष भन्दा यसवर्ष १२ प्रतिशत कम रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म ६५ प्रतिशत रोपाइँ भएको थियो । देशभर १३ लाख ५७ हजार हेक्टरमध्ये अहिलेसम्म सात लाख १८ हजार हेक्टरमा रोपाइँ भएको छ ।