दुलेगौंडा । नेपाल मगर संघ शुक्लागण्डकीले विरामीलाई आर्थिक सहयोग गरेको छ । मंगलबार संघले शुक्लागण्डकी–२ हलेदी र नर्सरी निवासी तीन जना विरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
संघले हलेदी निवासी स्तन क्यान्सर पीडित ५७ बर्षिया पार्वती थापा, मेरुदण्ड भाच्चिएका नरबहादुर थापा र नर्सरी निवासी ४९ बर्षका दुवै मृगौला पीडित शिवबहादुर रानालाई जनही १५ हजारका दरले सहयोग उपलब्ध गराएको हो । मगर संघमा आवद्ध पदाधिकारीहरुको उपस्थितिमा हलेदीमा एक कार्यक्रम गरी सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
क्यान्सर पीडित रानाले जी.पी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार गराईरहेकी छिन् । हिड्डुल गर्न समेत नसक्ने नरबहादुर दिनरात विस्तारामै लम्पसार छन् । लडेर मेरुदण्ड भाँच्चिएका उनी केही गर्न सक्दैनन् । त्यस्तै, मृगौला पीडित शिवबहादुरले जिएमसी हस्पिटल पोखरामा हप्तैपिच्छे नियमित डायलोसिस गराउँदै आएका छन् । हरेक पटक १० देखि १५ हजारसम्म खर्च हुने गरेको शिव बताउँछन् । गत मंसिरमा मृगौला फेल भएका शिवले हालसम्म उपचारमा ९ लाख खर्च भइसकेको बताए । उनका अनुसार निःशुल्क डायलोसिसका लागि निवेदन दिएपनि आफुले पालो नपाएको र नीजि हस्पिटल पैसा तिरेर डायलोसिस गर्न बाध्य भएको गुनासो गरे । तीनै जना विरामीको घर परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि अपिल गरेका छन् ।
विरामीलाई सहयोग रकम हस्तान्तरण गर्दै मगर संघ शुक्लागण्डकीका अध्यक्ष अमरराज थापाले शिघ्र स्वास्थ्य लाभको कामना गरे। उनले मगरहरुको एकताले नै सुख–दुःखमा धेरथोर सहयोग गर्ने वातावरण बनेको भन्दै मगरहरुको एकतामा जोड दिए । उनले केही दिन अघि मगरहरुको कला, संस्कृतिमा आधारित चलचित्र मिसार प्रदर्शन गरी टिकटबाट उठेको रकमले सहयोग गरिएको बताए ।
संघका गण्डकी प्रदेश सदस्य मनबहादुर पुनले स्वास्थ्य बीमा नगरेकालाई अनिवार्य गर्न र गरेकालाई नविकरण गर्न सुझाव दिए । स्वास्थ्य बीमाबाट आर्थिक भार कम पर्ने भएकाले सरकाले दिने सेवा सुविधाको उपयोग गर्न सवैलाई आग्रह गर्दै आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको बताए । मगर संघ तनहुँका जिल्ला सहसचिव सुमन आलेले रोगबाट जोगिन आहार, बिहार र विचार संघै उचित तथा सकारात्मक हुनुपर्ने बताए । उनले विरामीहरुलाई आत्मबल बढाउन आग्रह गरे ।
स्वास्थ्यकर्मी समेत रहेका मगर संघ शुक्लागण्डकीका सचिव सफल आलेले सरकारले नागरिक स्वास्थ्य सचेतना कार्यक्रमलाई जोड दिनुपर्ने बताए । उनले मगर संघले पनि आफ्नो समुदायका लागि स्वास्थ्य सचेतना कार्यक्रम गर्ने योजना बनाएको बताए ।
सो अवसरमा मृगौला पीडित शिवबहादुर रानालाई मगर संघका बरिष्ठ उपाध्यक्ष विष्णुबहादुर रानाले स्वास्थ्य बीमाका लागि भन्दै ३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका थिए । मगर संघले यसअघि पनि आफ्नो समुदायमा पर्ने विभिन्न रोगबाट पीडितहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।