दुलेगौंडा । समयमा पानी नपर्दा तनहुँमा धान रोपाइँ ढिलो भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार हालसम्म कुल ३५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई भएको छ ।
जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । गत बर्ष यस अवधिमा ६० प्रतिशत भुभागमा रोपाई भएको थियो भने यस बर्ष ३५ प्रतिशत भुभागमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । रोपाइँ ढिलो हुनुमा समयमा पर्याप्त पानी नपर्नु रहेको छ । ‘समयमा पानी नपर्दा कृषकले बेलैमा विउ राख्न पाएनन्, विउ राखेकाले पनि बेलैमा रोपाइँ गर्न पाएनन् । यसले गर्दा यस बर्ष रोपाई ढिलो हुने देखिएको छ’ उनले भने ।
तनहुँमा हालसम्म चुँदि फाट, साँखे फाट र मान्द्रे फाटका अधिकांश क्षेत्रमा रोपाइँ भईसकेको तिवारीले बताए । कतिपय ठाउँमा भने आकाशे पानीको भरमा रोपाइँ गरिसक्किएको उनको भनाई छ ।
तनहुँमा धान खेतीका लागि उपयुक्त ८ हजार हेक्टर क्षेत्रफल मध्य हालसम्म ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यस बर्ष ढिलो गरेर रोपाई सुरु भएको हुदाँ अन्त्यसम्ममा तनहुँमा ८० प्रतिशत भन्दा कम रोपाइँ हुने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तिवारीले बताए । उनका अनुसार गतबर्षको तुलनामा यस बर्ष रोपाई कम हुने प्रक्षेपण छ । गत बर्ष तनहुँमा ८८ प्रतिशत क्षेत्रमा रोपाइँ भएको थियो ।