दुलेगौंडा । तनहुँको शुकलागण्डकी नगरपालिका र पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक आयोजनाको प्रश्चिम खण्डका आयोजना प्रमुख विच छलफल कार्यक्रम सम्पन्न भएको छ । आयोजनाको शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्र भैरहेको निर्माण प्रगति तथा निर्माणका सम्बन्धमा आएको समस्याको बारेमा नगरपालिका कार्यालयमा छलफल गरिएको हो ।
छलफलमा नगर प्रमुख कृष्ण राज पण्डितले राजमार्गमा दैनिक हजारौ सवारी साधन गुड्ने भएको हुँदा सडकको लेबल मिलाउनु पर्ने, निर्माणका क्रममा सडक किनाराका नाला पुरिएको कारण राजमार्गमा भल बगेर समस्या भएको हुँदा तत्काल हल गर्नु पर्ने, जोखिममा परेका घरहरुलाई तत्काल ब्यबस्थापन गरिनु पर्ने, राजमार्ग बिस्तारका कारण क्षति पुगेका खानेपानी लाईनहरु मर्मत गरिदिनका लागी निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
छलफलमा योजना प्रमुख अमित कुमार श्रेष्ठले सम्झौता अनुसार निर्माण कम्पनी तत्काल निर्देशन दिनुका साथै शुक्लागण्डकी नगरपालिका भित्रका सडक खण्डमा गर्नु पर्ने ब्यबस्थापन गर्नका लागी आवश्यक अनुगमनलाई बढाउने बताए ।
नगरपालिका सरोकारवाला बिच छलफल पछी आयोजना प्रमुख अमित कुमार श्रेष्ठ, नगरपालिका प्रमुख इन्जिनियर तारापति भट्टराई, ठेकेदार कम्पनीका प्रमुख इन्जिनियर चेन जी लंग समेतको टोलीले नगर भित्र सडक खण्डको अनुगमन समेत गरेको छ ।