दुलेगौंडा । आदिवासी जनजाति महिला महासंघ शुक्लागण्डकी समन्वय परिषदको अध्यक्षमा जोशिला थापा चयन भएकी छिन् । शनिबार बेलचौतरामा भएको प्रथम अधिवेशनले खैरेनीटारकी जोशिला थापाको अध्यक्षतामा १३ सदस्यीय नगरस्तरीय महिला महासंघ समन्वय परिषद गठन गरेको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा माट्रिना कुमाल, सहसचिवमा नरमाया लामा तामाङ र कोषाध्यक्षमा यामकुमारी भुजेल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा चिजा गुरुङ, मिना श्रेष्ठ, इशारा राई, शर्मिला श्रेष्ठ, पुर्णिमा पुन र सुकुमाया गुरुङ चयन भएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामकुमारी भुजेलले देशको विकासका लागि महिलाहरु नेतृत्वमा आउनुपर्नेमा जोड दिइन् । उनले आदिवासी जनजाति समुदायका महिलाहरु अझै पनि पछाडी रहेको भन्दै यो समुदायको मुक्तिका लागि अहिले देखि नै महिलाहरुले नेतृत्व गर्ने आँट, साहस र अठोट लिनुपर्ने बताइन् ।
आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीकी अध्यक्ष तुलसी कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सल्लाहकार संयोजक खिमबहादुर कुमाल, महासंघका जिल्ला अध्यक्ष सुजित हिराचन, गण्डकी प्रदेश सचिव विमल जि.सी, शुक्लागण्डकी २ का वडाध्यक्ष सुमन बहादुर राना, १२ नं वडाका वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, नेवा दयदबु गण्डकीका अध्यक्ष हरिकुमार श्रेष्ठ, नेवा खल शुक्लागण्डकीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नेपाल मगर संघ शुक्लागण्डकीका अध्यक्ष अमर राज थापा, भुजेल समाज शुक्लागण्डकीका पुर्व अध्यक्ष कुलबहादुर भुजेल, परिषद्का उपाध्यक्ष कुलकुमार कुमाल, सचिव सुमन आले लगायतले बोलेका थिए ।