दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रहेको खैरेनी माध्यमिक विद्यालयमा अध्ययन गरेकी मनिला अधिकारी जिल्लास्तरीय कम्प्युटर टाइपिङ प्रतियोगितामा प्रथम भएकी छिन् । कम्प्युटर एशोसियसन नेपाल महासंघ तनहुँ र आदिकवि भानुभक्त क्याम्पस दमौलीले आयोजना गरेको प्रतियोगितामा जिल्लाभरिका ६७ जनालाई पछि पार्दै अधिकारी प्रथम भएकी हुन् ।
उनी खैरेनी माविबाट एसईई दिएर सोनी कम्प्युटर खैरेनीटारमा कम्प्युटर सिकीरहेकी छिन् । उनले १५ मिनेटमा ३०७ शब्द टाइपिङ गरेकी थिइन् ।
प्रतियोगितामा विग कम्प्युटर दमौलीका समिर रोका द्धितीय भए भने गोल्डेन कम्प्युटर दमौलीकी निशा आचार्य तेस्रो भइन् । प्रतियोगितामा एसइई दिएर कम्प्युटर सिक्दै गरेका विद्यार्थीबीच प्रतिष्पर्धा गराइएको हो ।
विजयी प्रतियोगिहरूलाई क्यानले नगद पुरस्कारसहित प्रमाणपत्र र कम्प्युटर कोर्षमा शत प्रतिशत छात्रावृतिको व्यवस्था मिलाएको छ । साथै, अन्य उत्कृष्ट ५ सहभागीलाई पनि कम्प्युटर कोर्षमा शत प्रतिशत र १५ जनालाई ५० प्रतिशत छात्रावृति प्रदान गरेको छ ।
क्यान तनहुँको अध्यक्ष विश्वप्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने र क्यान महासंघका केन्द्रीय सदस्य तुलसीराम पाण्डे लगायतले बोलेका थिए ।