दुलेगौंडा । शुुक्लागण्डकी २ स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा “शिव महिमा तथा बोलबम धार्मिक महोत्सव–२०८०” हुने भएको छ । श्रावण महिनाको ८ गते देखि १५ गते सम्म संचालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा हुन लागेको हो ।
बोलबम धार्मिक महोत्सवमा भागवात वाचिका राधिका दाषीले प्रवचन दिने धाम कार्यसमितिका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए । उनका अनुसार यस बर्ष धामका साथसाथै शुक्लागण्डकी ९ स्थित गौ संरक्षण केन्द्रको अवलोकन एंव् गौसेवाको कार्यक्रम राखिएको छ । महोत्सवको क्रममा भक्तजन तथा दानवीरहरुबाट संकलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिने लम्सालले बताए ।
धामले प्रत्येक वर्ष श्रावण महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ । धाममा विहिबार र शुक्रबार सम्पन्न सर्वपक्षीय तयारी भेलाले महोत्सव संचालनका लागि मुल समारोह समिति तथा ३५ वटा उपसमिति गठन गरेको छ । १०१ सदस्यीय मुल समारोह समितिको संयोजकमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल रहनुभएको छ । उपसमितिहरुको नेतृत्व विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरुले गरेका छन् ।
भेलामा शुक्लागण्डकी २ का वडाअध्यक्ष सुमन राना, विश्वहिन्दु महासंघ, बैजनाथ बोलबम समिति, पतञ्जली योग समिति, अद्वैत संस्था, सुशासन तथा सम्वृद्व शुक्लागण्डकीका लागि युवा अभियान, भुलभुले बाराही भजन समूह, लायन्स क्लब, नवज्योती आमा समूह, गाछेपानी आमा समूह, मुक्तिनाथ आमा समूह, जनसेवा आमा समूह, कल्याणकारी आमा समूह, जागृती आमा समूह लगायत विभिन्न सामाजिक संघ÷संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।