काठमाण्डौ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक सय ३० जना यात्रु रहेका थिए।
चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आउँदो शुक्रवार र शनिवार पोखराको फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका थिए।
गएको पुस १७ गतेदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म आन्तरिक उडान मात्रै भइरहेको छ ।