दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा घाँस रोपिएको छ । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानको आयोजना र स्थानीयको जन श्रमदानमा घाँस रोपिएको हो ।
हिउदमा हुने घाँस अभावलाई कम गर्नका लागि गौं संरक्षण परिसरमा जेठ ६ गतेदेखी सरसफाई तथा घाँस रोपण कार्य सुरु गरिएको थियो । अभियानको छौठैं कार्यक्रम अर्थात असार २ गतेदेखी घाँस रोपण कार्य सुरु भएको छ ।
गौं संरक्षण केन्द्रमा सुरुवाति दिनदेखी नै स्थानीयहरुले श्रमदान गरिरहेका छन् । गाईका लागि आफुहरुले सहयोग गर्न पाउँदा आफुहरु निकै खुसी रहेको श्रमदाता बताउछन् ।
गौं संरक्षण केन्द्रमा असारको दोस्रो हप्ता गौं संरक्षण केन्द्रमा वृहत रुपमा घाँस रोपण कार्य गरिने कार्यक्रम संयोजक विज्ञान भण्डारीले बताए । उनका अनुसार उक्त दिन पञ्चेबाजा सहित रमाईलो गर्दै घाँस रोपिने बताए ।
अभियानका संयोजक शंकर पन्तले छैठौं कार्यक्रममा घाँस रोपण कार्यमा १५ प्रतिशत क्षेत्रमा घाँस रोपिएको बताए । साथै अभियानको कार्यमा विभिन्न संघ संस्था, विद्यार्थी, समाजसेवीले घाँस, चोक्कर, नुन सहयोग गर्दै आएको बताए ।
श्रमदानमा सेना, प्रहरी, जनप्रतिनीधि, कर्मचारी, राजनीतिक दल, सामाजिक संघ संस्था, उद्योगी व्यवसायी तथा विद्यार्थीको लगायतको सहभागिता हुदै आएको छ ।