खैरेनीटार । कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका–६ का कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । बुधबार ५० प्रतिशत अनुदानमा कृषकलाई धान मकै कुट्ने मेसिन (कम्बाइन मिल) र हाते ट्याक्टर वितरण गरिएको हो ।
दरगाँउ कृषि तथा पशुपन्छि कृषक समुह र तीनखोलेदेवि कृषि तथा पशुपन्छि कृषक समुहमा आबद्ध कृषकलाई उक्त उपकरणहरु वितरण गरिएको छ । कृषक होममाया आले, धनबहादुर नेपाली र खेमराज पौडेललाई हाते ट्याक्टर वितरण गरिएको छ भने कृषक अम्बिका पाण्डे, सुर्य पौडेल, कमलराज पौडेल, छविलाल कुमाल, केदारनाथ घिमिरे र ऋषिराम घिमिरेलाई कम्बाइन मिल वितरण गरिएको छ ।उपकरण वितरण कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रशाद तिवारीले पछिल्लो समय कृषि कर्ममा लाग्नेको संख्या दिनप्रतिदिन घटिरहेको बताए । उनका अनुसार तनहुँमा कुल खेतियोग्य जमिनमा २६ प्रतिशन खेतियोग्य जमिन बाझै रहेको बताए । कृषकहरु कृषि क्षेत्रबाट पलायन हुन थालेपछि अनुदानका कार्यक्रमहरु गरिदै आएको बताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी नगरपालिका कृषि शाखाका प्रमुख नवराज पण्डित लगायतको उपस्थिती रहेको थियो ।