दुलेगौंडा । धुलोबाट आजित स्थानीय र युवा अभियान्ताहरुले मुग्लिन–पोखरा सडक योजना, पश्चिम खण्डको ठेकेदार कम्पनीका व्यवस्थापकलाई धुलाम्मे सडकमा उभ्याएका छन् । धुलो व्यवस्थापनमा आयोजनाले राम्रोसंग काम नगरेपछि सुशासन र समृद्ध शुक्लागण्डकीका लागि युवा अभियानको साथमा स्थानीयले ठेकेदारलाई धुलाम्मे सडकमा उभ्याएका हुन् ।
पृथ्वीराजमार्ग स्थित खैरेनीटार-काेत्रे सडक खण्डमा बसाेवास गर्ने स्थानीय धेलाेले आजित भएका थिए । जसका कारण युवा अभियान्ता र स्थानीयले कम्पनीको खैरेनीटार स्थित कार्यालय घेराऊ पनि गरेका थिए ।
धुलोको समस्या समाधान गर्नका लागि सहमति पनि भएको छ । धुलाम्मे सडकमा ठेकेदारलाई आधि घण्टा उभ्याएपछि युवा अभियान्ता र आयोजना विच ईलाका प्रहरी कार्यालय बेलचौतारामा सहमति भएको थियो । जहाँ आयोजनाले खैरेनीटार देखि कोत्रे सम्म दैनिक ३ वटा ट्याङ्करले नियमित पानी हालेर धुलो उड्न नदिने सहमति भएको छ । उक्त सहमति पत्रमा निर्माण पक्षबाट व्यवस्थापक चेम जुन ताओल, ईन्जिनियर शिब आशिष सिमस्वर र मनोज भट्टले हस्ताक्षर गरेका छने भने युवा अभियान्ताको तर्फबाट शंकर पन्त, विपिन भण्डारी, कोमल बहादुर बाँनिया, नवराज तिवारी, कृष्ण कार्कीले हस्ताक्षर गरेका छन् ।
विसं २०७८ जेठ २ गते मुग्लिन–पोखरा सडक योजना, पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्मको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले २०७८ भदौ १२ गतेदेखि काम सुरु गरेको थियो । सम्झौता बमोजिम कम्पनीले २०८१ भदौसम्म काम समपन्न गरिसक्नुपर्छ ।