दुलेगौंडा । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणको लागि युवा अभियानले तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा वृहत सरसफाई कार्यक्रम गर्ने भएको छ ।
गौं संरक्षण केन्द्रमा रहेको बनमासालाई फाडेर विकासे घाँस रोप्ने ठाउँ तयार गर्न जेठ १३ गते शनिबार वृहत सरसफाई कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विज्ञान भण्डारीले बताए । ‘घाँस रोप्ने ठाउँमा जरासहित झाडी हटाउनु पर्ने तथा ढुंगा टिप्नुपर्ने भएकाले हसिँया, गैंति, कुटो, कोदालो, खन्ती आदि औजार लिएर उपस्थित भईदिनुहोला’ भण्डारीले बताए ।
गत शनिबार अभियानले घाँस रोपण कार्य गरेको थियो । उक्त कार्यमा सेना, प्रहरी, जनप्रतिनीधि, कर्मचारी, राजनीतिक दल, सामाजिक संघ संस्था, उद्योगी व्यवसायी तथा विद्यार्थीको लगायतको सहभागिता रहेको थियो ।