काठमाडौं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रूपैयाँ नाघेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार ८६० रूपैयाँ बराबर पर्न जान्छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख रूपैयाँ आन्तरिक र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख रूपैयाँ बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो। रासस