दुलेगौंडा । समृद्ध शुक्लागण्डकीको लागि युवा अभियानले शुक्लागण्डकी नगरपालिका–५ झरौटामा रहेको जीपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा छड्के जाँच गरेको छ । डाक्टरहरु समायमा नै अस्पताल नआउने जनगुनासोलाई लिएर युवा अभियानले छड्के जाँच गरेको हो ।
अस्पतालमा भईरहेको जनगुनासोलाई सम्बोधन गर्न छड्के जाँच गरेको युवा अभियान्ता शंकर पन्तले बताए । ‘अस्पतालमा डाक्टर समयमा नआउने र अस्पतालका कार्यकारी निर्देशक प्रायजसो विदामा बसिरहने गुनासो हामीलाई आएको थियो । त्यसैको आधारमा हामीले आज छड्के जाँच गर्याे’ उनले भने, ‘हामीले छड्के जाँच गर्दा आज भने डाक्टरहरु समयमा नै अस्पतालमा आएको पायौं तर, कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ भने विदामा हुनुभएको रहेछ । उहाँ अस्पतालको कामले मन्त्रालय जानुभएको बुझिएको छ ।’ युवा अभियानले अब अस्पतालमा अप्रत्यक्ष रुपमा छड्के जाँच गरिरहने अभियान्ता पन्तले बताए ।