तनहुँ । वैशाख १० गते देशभरीका ३ क्षेत्रमा उपनिर्वाचन हुदै छ । उपनिर्वाचनलाई शान्तिपूर्ण वतावरणमा सम्पन्न गर्न आज राति १२ बजेबाट मौन अवधि सुरु हुदै छ ।
प्रतिनिधि सभा अन्तर्गत बारा–२, चितवन–२ र तनहुँ–१ मा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा कुनै पनि प्रचारप्रसार गर्न पाइँदैन ।
यस्तै, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचारप्रसार गर्न नहुने, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने पनि आयोगको आचारसंहितामा उल्लेख छ ।