तनहुँ । केही दिनदेखि लागेको तुवाँलो भोलि दिउँसोदेखि हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार भोलि पश्चिमी वायुको प्रणाली नेपाल भित्रने सम्भावना छ ।
‘पश्चिमी प्रणाली नहुँदा नेपालमा अहिले उच्च चापीय प्रणाली छ । उच्च चापीय प्रणाली भएका बेला वायुमण्डल स्थिर हुन्छ’ मौसमविद् नगरकोटीले भन्नुभयो –‘पश्चिमी प्रणाली भित्रिएपछि भने वायुमण्डलमा हलचल हुन्छ । हावाहुरी चल्ने र पानी पर्ने सम्भावना रहन्छ ।’ पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने यो प्रणालीको प्रभाव देशका धेरै ठाउँमा पर्ने सम्भावना छ ।
केही दिनदेखि वर्षा नहुँदा आगलागी र डढेलोका घटना बढेका छन् । यसले गर्दा वायु प्रदूषण बढेको छ । प्रदूषणका कारण तुवाँलो लाग्दै आएको छ ।