दुलेगौंडा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड थप १९ दिन बन्द हुने भएको छ ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
यस क्षेत्रमा भिर कटानको काम अझै बाँकी रहेकाले आइतवार सूचना जारी गरी समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी काशीराम गैरेले जानकारी दिए । सडक राति १२ बजेदेखि बिहानको ४ बजेसम्म बन्द हुने छ ।
यसअघि फागुन २८ देखि चैत १२ गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द सूचना प्रकाशित गरिएको थियो ।