दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारमा फागुन १८ गतेदेखि २९ गतेसम्म शुक्लागण्डकी महाेत्सव हुने भएको छ । `आर्थिक, सामाजिक, खेलकुदकाे विकास, कृषि तथा पर्यटनकाे प्रवर्द्धन, शुक्लागण्डकी महाेत्सव, कला सीप र संस्कृतिको संरक्षण´ भन्ने मुल नाराकाे साथमा महाेत्सव सञ्चालन हुन लागेको हाे ।
शुक्लागण्डकी उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाकाे संयुक्त आयाेजनामा महाेत्सव हुने भएको हाे । महाेत्सवकाे पूर्व सन्ध्यामा आयाेजकले शनिबार पत्रकार सम्मेलन गरेर महाेत्सवबारे अन्तरक्रिया गरेको छ ।
उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् महाेत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठले महाेत्सवले स्थानीय उत्पानकाे बजारीकरण गर्न र पर्यटकीय क्षेत्रकाे प्रचार प्रसार गर्न महत्त्वपूर्ण भुमिका निर्वाहा गर्ने बताए । उनका अनुसार महाेत्सव अवधिमा पालिका स्तरीय भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, लाेक गायन प्रतियोगिता, रत्याैली प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारकाे सांगीतिक प्रस्तुति रहने आयाेजकले जनाएको छ ।