बेलचौतारा । जनकल्याण माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि आगामी माध्यमिक शिक्षा परिक्षामा संलग्न हुने विद्यार्थीहरुलाई शुभकामना तथा विदाई गरिएको छ ।
विद्यालयको कक्षा ९ का विद्यार्थीहरु द्धारा आयोजित शुभकामना तथा विदाई कार्यक्रममा कक्षा ९ र १० गरेर कुल ९२ जना विद्यार्थीहरु सहभागि रहेका थिए । उक्त कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक रुपबाट प्रस्तुत गरिएको थियो । कार्यक्रममा कक्षा ९ बाट २ वटा छुट्टा छुट्टै नृत्य समेत गरिएको थियो भने कक्षा १० का छात्र छात्राले गायन कला प्रस्तुत गरेका थिए ।
कक्षा १० का दाई दिदीहरुलाई उज्वल भविष्यको शुभकामना व्यक्त गर्दै कक्षा ९ की छात्रा गरिमा उपाध्यायले यो कार्यक्रम एक संस्कृती जोगाउने र आत्मीयता प्रकट गर्ने महत्वपूर्ण कार्यक्रम रहेको बताईन् । कक्षा १० को तर्फबाट धन्यवाद प्रकट गर्दै छात्र मिलन पौडेल र छात्रा सिम्रन मोक्तानले विद्यालयले सिकाएको संस्कार, शिक्षा तथा अनुशासनले आफुहरु सधै ऋणि भएको बताए । शैक्षिक गुणस्तर परिक्षण केन्द्रको गत सालमा भएको मूल्याङ्ककनमा विद्यालय जिल्लामा प्रथम भएको प्रति गौरवान्वित हुँदै भाई बहिनीहरुलाई निरन्तर अध्ययन शिल हुन समेत सुझाए । विद्यालयका सहायक प्रधानाध्यापक दामोदर रेग्मीले शुभकामना व्यक्त गर्दै विद्यालयको श्रोत र साधन, शिक्षक साथिहरुको शिक्षण सिप तथा शिक्षण कौशलले भ्याए सम्म निरन्तर अध्यापनमा लागिरहनु भएको प्रति आभार प्रकट गर्दै विद्यार्थी भाई बहिनीहरुले मेहनतलाई अझ सशक्त बनाउनुपर्ने बताउनु भयो । विद्यालयका प्रधानाध्यापक दिपक ढकालले उच्च शिक्षा तर्फ लम्कर्दै गर्दा विद्यालयले सिकाएको शिक्षा, अनुशासन र मायालाई नभुल्न सुझाउनु भयो ।
उक्त कार्यक्रमको अवसर पारेर कक्षा ९ ले कक्षा १० का दाई दिदीहरुलाई मायाको चिनो प्रदान गरेका थिए भने कक्षा १० का भाई बहिनीहरुले पनि उपहार स्वरुप मायाको चिनो प्रदान गरेका थिए । कक्षा ९ का छात्र अनुज कुमार शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको समग्र व्यवस्थापन शिक्षक विष्णु खनालले गर्नुभएको थियो भने कार्यक्रम कक्षा ९ की छात्रा प्रतिमा श्रेष्ठले गरेकी थिइन् ।