दुलेगौंडा । तनहुँकाे व्यास नगरपालिकाले भाेलि सार्वजनिक विदा दिएको छ । सहिद दिवसको अवसरमा नगरपालिकाले `छैठौं व्यास अल्ट्रा मिनि म्याराथन-२०७९´ आयाेजना गर्न लागेकाे हुदाँ नगरले सार्वजनिक विदा दिएको हाे ।
भाेलि व्यास नगरपालिका अन्तर्गतका सबै कार्यालय, सामुदायिक र निजि शैक्षिक संघ संस्था र अन्य संघ संस्थालाई सार्वजनिक विदा दिईएकाे छ ।
म्याराथन व्यास-५ मनाहुँकाेट देखि व्यास-८ शहिदपार्क पुलिमर्याङ्गसम्म हुने छ । धावकले प्रतियोगितामा ४४ किलोमिटर दुरी पार गर्नुपर्ने छ ।
प्रतियोगितामा प्रथम हुनेले ६१ हजार, द्धितीय हुनेले ५१ हजार, तृतीय हुनेले ३८ हजार र सान्त्वना हुने ३ जनाले जनही १२ हजार ५ सय प्राप्त गर्ने छन् । यस प्रतियोगितामा जिल्ला भित्रका धावक मात्रै सहभागी हुन पाउने छन् । प्रतियोगिता माघ १६ गते विहान ७ बजे सुरू हुनेछ ।