दुलेगौंडा । कपासेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे अध्यक्षमा मिलन पाैडेल निर्वाचित भएका छन् । बुधबार सम्पन्न समितिकाे एघारौं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिकाे उपाध्यक्षमा टेकनाथ सुवेदी, सचिवमा दिपक सापकोटा, सह सचिवमा भगवती रसाइली र काेषाध्यक्षमा बिष्णुहरि गर्ताैला चयन भएका छन् । यसै गरि सदस्यमा सुरज भण्डारी, सिताकुमारी शर्मा, यकमाया लामिछाने, राम लम्साल, सुजन थापा र विरबहादुर थापा मगर चयन भएका छन् ।
कार्यक्रम बाेल्दै प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले आफ्नो क्षेत्रमा रहेको खानेपानीको समस्या समाधान गर्न संसदमा आवाज उठाउने बताए । उनका अनुसार स्वच्छ खानेपानीको लागि दीर्घकालीन समस्या समाधान गर्नतर्फ अग्रता हुने उनको भनाइ छ । अहिले बाेलिकाे विश्वास गरेर मत दिएका जनसमुदायलाई अर्को पटक काम देखेर मत दिने अवस्था सिर्जना गर्ने बताए ।
समितिका अध्यक्ष ठानप्रकाश न्याैपानेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, नगर उपप्रमुख खुमबहादुर विक (राजु), संघिय खानेपानी तथा ढल व्यवस्थापन आयाेजनाका कुलप्रसाद पाैडेल, शुक्लागण्डकी-३ का वडाध्यक्ष सञ्चिन भुजेल लगायतको उपस्थिति रहेको थियाे ।
खानेपानी तथा सरसफाइ समितिमा हालसम्म ६५८ जना उपभोक्त सदस्यहरू रहेका छन् ।