दुलेगौंडा । तनहुँ जिल्लाभित्र अबैधानिक रुपमा संञ्चालित क्रसर उद्योगहरुमा ताला लगार्ईएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई बुधबार (मंसिर २० गते) कानुन विपरित, दर्ता नगरि, सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका क्रसर उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिकामा सञ्चालित १० वटा क्रसरमा प्रहरीले नै ताला लगाएको छ । उक्त कार्यमा भने नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक(राजु) लगायत कुनै पनि जनप्रतिनिधि सहभागि रहेनन् ।
ताला लगाईएका क्रसरमा यशोशान्ति कंक्रिट स्टोन प्रालि, खनाल गिटी बालुवा उद्योग, हारति एग्रिगेट, ए सिक्स कन्ट्रक्सन, क्वालिटिी एग्रिगेट, महालक्ष्मी एग्रिगेट, थापा एग्रिगेट, ढोरबाराही एग्रिगेट, मेलमिलाप एग्रिगेट र शिवशक्ति ढुङ्गा,रोडा, बालुवा क्रसर प्रालि रहेका छन् । नगरपालिका भित्र संञ्चालित ३ वटा क्रसर उद्योग यसअघि नै बन्द भईसकेको छ । जसमा प्रोफर कन्ट्रक्सन प्रा.लि, जयमहालक्ष्मी एग्रिगेट र सिद्धेश्वर क्रसर प्रालि रहेका छन् ।
मन्त्रालयको पत्र पछि जिल्ला समन्वय समितिले स्थानीय तहलाई ताला लगाउन निर्णय गरेको थियो । ‘कानुन विपरित क्रसरहरु सम्बन्धीत स्थानीय तहले तत्काल बन्द गराई त्यस्ता उद्योगहरुमा मौजाद रहेका कच्चा तथा प्रशोधित नदिजन्य पर्दाथको स्टक प्रमाणित गरि सो को विवरण ७ दिनभित्र जिल्ला अनुगमन समिति र जिल्ला प्रशासन कार्यालय जानकारी गराउने’ निर्णयमा उल्लेख छ । तर पनि नगरपालिकाका कुनैपनि जनप्रतिनिधि उक्त कार्यमा प्रहरीलाई परिचालन गरि सहभागि भएनन् ।